सुर्खेत । उपप्रधान तथा भौतीक योजना मन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन कसैले चाहेर पनि नभत्किने बताएका छन् । बिहिबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सत्ता साझेदार दलहरु आपसी समझदारी अनुसार अगाडी बढे कसैले पनि गठबन्धन भत्काउन नसक्ने बताएका हुन् ।
गठबन्धनका सबै दलहरुले सुदृढ ढङ्गबाट अगाडी बढ्नुपर्ने बताउँदै उनले भने, “मुख्य चारवटा चिजहरु हाम्रो गठबन्धन भित्र सुध्रिनुपर्छ । पहिलो प्रतिगमनलाई कुनै पनि हालतमा अगाडी बढ्न दिन चाँहदैनौ ।, दोस्रो राष्ट्रियताको रक्षा, तेस्रो समृद्धिको लक्ष र चौथो शान्ती प्रक्रियाको बाँकी काम यसलाई पुरा गर्ने गरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि हुदैन । यसो गर्न सकिएन भने हामीले चाहदैमा र नचाहदैमा केही कुरा हुदैन् ।”
यस्तै उनले पत्रकारहरुसंग कुरा गर्दै राष्ट्रपतिमा राट्रिय सहमती आवश्यक भएको पनि बताएका छन् । उनले भने ‘अहिलेको सरकारलाई संसद्मा भएका ९९ प्रतिशतले विश्वासको मत दिए । संसद्मा भएका सबैजसो पार्टीले प्रधानमन्त्रीज्यूलाई समर्थन गरे । यो ऐतिहासिक परिघटना हो । त्यस वातावरणले राष्ट्रिय सहमति कायम गर्ने वातावरण बनेको छ ।’
संवाददाता । बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित