सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा जुम्लाबाट प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णालीका सम्भावनालाई चिन्न नसक्दा कर्णाली पछि परेको बताएका छन् । सुर्खेतमा भएको एक कार्यक्रममा बोल्दै सांसद शाहीले कर्णाली बनाउने जति नै बहस गरेपनि जबसम्म हामीले कर्णालीलाई चिन्दैनौ तबसम्म कर्णाली परनिर्भर नै रहने बताएका हुन् ।
कर्णालीमा धेरै नेताहरुले बिभिन्न समयमा थुप्रै आश्वासन दिएको तर तिनको कार्यान्वयन किन हुन सकेको छैन ? भन्ने सहभागिको प्रश्नमा सांसद शाहीले भने, “यदि कसैले झुट बोल्यो भने अहिले नै प्रहरीले मुद्दा चलाए कार्वाही हुन्छ । तर राजनितिज्ञले जति धेरै झुट बोल्दा त्यति धेरै भोट आउने यो चाँही किन ? एक घर एक रोजगार भन्ने ठुला–ठुला भाषण यही मञ्चमा सुनिएको हो तर म आज पनि खोजिरहेको छु त्यो कहा छ ?”
यस्तै उनले कर्णाली विकासमा पछि पर्नुको प्रसंग जोड्दै भने “हाम्रो कर्णालीमा बग्दै गएको कर्णाली नदी भारतमा गएर गंगामा मिसिएर जल बन्छ । कालिगण्डकीको खोल्सामा भएको सिलालेख जुन पत्थर हो । त्यो भारतमा गएर भगवानको रुप बन्छ । तर कर्णालीमा यदी चम्किलो हिरा छ भने कर्णालीका आफुलाई शिक्षित भन्नेहरुले यो त हिरा होइन हजुर यो त चम्किलो ढुङ्गा हो भन्छन् । तर अन्य कुनै ठाउँमा चम्किलो ढुङ्गा भयो भने उसलाई कर्णालीमा ल्याइन्छ, यो त ढुङ्गा होइन हजुर यो त हिरा हो हिरा भनेर पुजिन्छ । यस्तो किसिमको कामले गर्दा कर्णाली पछि परिरहेको छ ।”
संवाददाता । सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित