सुर्खेत, १४ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राष्ट्रपति उम्मेदवारले नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती बन्द गर्ने, नेपाललाई भारतीय सुरक्षा छातामा राख्ने सन् १९५० को असमान सन्धि खारेज गर्ने, भारतले अतिक्रमण गरेका नेपाली भूमि, फिर्ता लिने, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गर्ने प्रतिबद्धता गर्नुपर्ने आवश्यकता भएको औल्याएका छन् ।
नेपाल मजदुर किसान पार्टीले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव सुवालले नेपाली भूमि कालापानीबाट भारतीय सेना फिर्ता पठाउने, लिम्पियाधुरामा राजनीतिक र प्रशासनिक उपस्थिति गराउने प्रतिवद्धतासमेत राष्ट्र«पतिका उम्मेदवारबाट हुनुपर्ने धारणा राखे ।
उहाले युक्रेनमा रुसविरुद्ध अमेरिकाको युद्धमा नेपालले अमेरिकाको पक्षमा मतदान गरेको फिर्ता लिने प्रतिवद्धता पनि राष्टपतिका उम्मेदवारबाट आउनु पर्ने आवश्यकता औल्याए । भारत, पाकिस्तान लगायतका देशमा भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्रीलाई समेत जेल सजाय हुन्छ । हाम्रो देशमा पनि भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलाई जेल सजाएको व्यवस्था गर्नुपर्छ उनले भने ।
देशमै रासायनिक मल कारखाना खोले मात्र नेपाली किसानको सेवा हुने र मल खरिदमा कमिसान खाने सरकारहरूले मल कारखाना नखोलेको बताए ।
संवाददाता । आइतबार, फागुन १४, २०७९ मा प्रकाशित