नेपाली भाषाको उद्मस्थल जुम्लाको सिञ्जामा आज नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गतको गाउँपालिका स्तरीय अभिमुखीकरण सम्पन्न भएको छ ।
सिञ्जाको नराकोटमा आयोजित अभिमुखीकरणलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अप्राकृतिक र अवाञ्छित रुपमा छापामार शैलीले पर्दा पछाडिबाट बनेको गठबन्धन सरकार मुलुकका लागि अभिशाप भएकाले अर्को चुनावबाट एकल बहुमत ल्याउने गरी काममा खट्न कार्यकर्तालाई आग्रह गरे ।
नेता रिजालले आफ्नो इतिहास र पूर्खाहरुको योगदानप्रति गौरव गर्दै सुन्दर कर्णाली बनाउन यहीका नागरिक जाग्नुपर्नेमा जोड दिँदै त्यसका लागि समृद्धिलाई एजेन्डा बनाएको पार्टी एमालेले जित्नु अनिवार्य रहेको बताए । उनले भने, ‘अरु पार्टीले मुुलुक बनाउन सक्दैनन् भन्ने प्रमाणित भइसकेको छ । उग्रवापन्थी र दक्षिणपन्थीहरुको गठजोड कुनै सकारात्मक एजेन्डाका लागि नभएर मुलुकलाई मिलेर तहसनहस पार्नका लागि हो । नेपाल र नेपालीका लागि होइन, विदेशीका लागि कम्फर्टेबल सरकार बनेकाले हामी यसबाट कुनै सकारात्मक आशा गर्न सक्दैनौँ ।‘
पालिका कमिटीका अध्यक्ष युवराज बमको अध्यक्षतामा आयोजित कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि गेहेन्द्र दाहाल, जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य मेनका रेग्मीलगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।
भेलाले सबै वडाका लागि संगठन सुदृढीकरण तथा विस्तार अभियानको कार्ययोजना बनाउनुका साथै भोलिबाटै कार्यक्रम सुरु गर्ने तय गरेको छ ।
संवाददाता । शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित