सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोलि दोस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
गत पुस २७ गते नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि फागुन १८ गते राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् ।
राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
संवाददाता । बिहिबार, चैत १६, २०७९ मा प्रकाशित