Karnali Media
२०८३ असार १६ , मंगलबार

उपप्रधान तथा रक्षामन्त्री खड्काले भने–‘उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै भनेको थिइनँ’



मन्त्री बन्दिन भन्दै बारम्बार अभिव्यक्ति दिएका नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले उपप्रधान एवं रक्षामन्त्री बनेपछि आफ्नो बचाउँ गरेका छन् । शुक्रबार उपप्रधानमन्त्री बनेका खड्काले शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगी शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीसँग संवाद गर्दै खड्काले आफ्नो बोलीको आफैं बचाउँ गरेका हुन्।

मन्त्री हुनुअघि खड्काले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा धेरै पटक मन्त्री बनिसकेको हुँदा अब मन्त्री नबन्ने तर अरुलाई मन्त्री बनाउने बताउँदै आइरहेका थिए।


उनले आफुले बोलेको कुरालाई बचाउँ गर्दै भने, ‘विभिन्न कार्यक्रमहरूमा सहभागी हुने क्रममा मलाई मेरो चेतनाले मेरो दिलले निष्कर्षमा के पुर्‍यायो भने म धेरैचोटि मुलुकको मन्त्री भइसके। धेरै मन्त्रालयको मन्त्री भइसकें। अब फेरि मैले मन्त्रीका रूपमा फर्कने, फेरि त्यसमा लालच देखाउनु उपयुक्त हुँदैन भन्ने लाग्यो। त्यसैले मैले घोषणा गरेँ आजदेखि मेरो मन्त्री बन्ने अभियान बन्द भयो। आजदेखि मन्त्री बनाउने अभियानमा लाग्छु भनेर घोषणा गरेँ, त्यसपछिको ७ वर्षको अन्तरालमा जुन अहिलेको घटनाक्रम आयो, त्यसपछि फेरि मलाई त्यही कुरा सोधियो, मैले त्यही भनेँ।’

‘अहिले सामाजिक सञ्जालमा आइरहेको छ, मन्त्री खान्नँ भन्नुहुन्थ्यो मन्त्री बन्दिनँ भन्नुभयो फेरि मन्त्री बन्नुभयो। मैले उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेको थिएँरु मैले मन्त्री बन्दिनँ भन्या हो। अहिले पनि उपप्रधानबिनाको मन्त्री भएको भए म हुन्थिनँ। यो बीचमा मलाई पार्टीका नेताहरूले मन्त्री बन्न आग्रह गर्दा मैले त्यही कुरा भनेको थिएँ। अहिले म मन्त्री मात्र बनिरहेको छैन अहिले म मुलुकको उपप्रधानमन्त्री पनि छु भन्ने कुरा मेरा शुभचिन्तकहरू, सामाजिक सञ्जालमा मेराबारेमा टिप्पणी गर्नेहरू सबै मित्रहरूलाई प्रस्ट पार्न चाहन्छु,’ उनले थपे।

प्रकाशित मिति : २०७९ चैत १८ गते शनिबार