प्रशासनतर्फका शाखा अधिकृत र उपसचिवको अभाव हुँदा झन्डै २ सय स्थानीय तह अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुन बाध्य भइरहेका छन् । कानुनी व्यवस्थाअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा नेपाल प्रशासन सेवाका अधिकृत, उपसचिव र सहसचिव रहने प्रावधान छ ।
तर, प्रशासन सेवाका अधिकृतहरूको अभाव हुँदा कतिपय स्थानीय तह निमित्तको भरमा सञ्चालन हुन बाध्य भइरहेका हुन् । अझै केही स्थानीय तहमा त नियमविपरीत प्रशासन सेवाभन्दा बाहेकका कृषि, स्वास्थ्य, भेटनरीलगायत समूहका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहेको पाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार शाखा अधिकृत र उपसचिवको अभाव हुँदा कतिपय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने बाध्यता रहेको हो । मन्त्रालयका अनुसार अहिले ७ सय ५३ वटा स्थानी तहमध्ये १ सय ७८ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका छन् ।
निमित्तका भरमा सञ्चालन भएकाहरूमा गाउँपालिका १ सय १, नगरपालिका ७१ र उपमहानगरपालिका ६ वटा रहेका छन् । कानुनअनुसार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा नेपाल सरकारका शाखा अधिकृत रहने व्यवस्था छ भने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवस्तरका कर्मचारी रहने प्रावधान छ ।
यसै गरी उपमहानगरपालिका र नगरपालिकामा भने सहसचिवस्तरका कर्मचारी रहने कानुनी व्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा दरबन्दीअनुसारकै कर्मचारी पठाउन खोजे पनि जनशक्ति अभावका कारण सोअनुसार कर्मचारी व्यवस्थापन गर्न नसकेको जनाएको छ । उपसचिव दरबन्दी रहेकामध्ये ७१ वटा नगरपालिकामा शाखा अधिकृतलाई निमित्तको जिम्मेवारी दिइएको छ । त्यसै गरी शाखा अधिकृत दरबन्दी रहेकामध्ये १ सय १ गाउँपालिकामा स्थानीय तहकै तथा अन्य सेवा समूहका अधिकृत तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव खिलराज राईले उपसचिव र शाखा अधिकृतको अभावमा केही स्थानीय तहमा अहिले पनि निमित्त प्रमुख प्र्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्ने बाध्यात्मक अवस्था आएको बताए । उनका अनुसार लोकसेवा आयोगबाट वार्षिक क्यालेन्डरअनुसार शाखा अधिकृत र उपसचिव परिपूर्ति गर्न ढिलाइ भएकाले पनि समस्या भएको हो । २०७८ सालमा लिइएको शाखा अधिकृतको परिणाम नआएकाले पनि गाउँपालिकामा पठाउने शाखा अधिकृतको अभाव भइरहेको मन्त्रालयका उपसचिव राईले बताए । त्यसै गरी लोकसेवाको नियमित क्यालेन्डरअनुसार २०७९ सालमा हुनुपर्ने शाखा अधिकृतको पनि हालसम्म परीक्षा नै नभएकाले समस्या भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार केही स्थानीय तहमा भने केन्द्रबाटै शाखा अधिकृत तथा उपसचिवहरू जान नमान्ने अवस्था रहेकाले ती निकायमा अन्य सेवा समूहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ । नेपाल समाचारपत्र दैनिकबाट
संवाददाता । आइतबार, चैत २६, २०७९ मा प्रकाशित