सुर्खेत, ५ बैशाख । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको तरंग लयमा किन नसुनिएको भन्दै प्रश्न गरेका छन् । पार्टीको कार्यक्रम मिशन ग्रासरुट लिएर सुर्खेत पुगेका रिमालले पहिले पूर्वमा सुसेल्दा महाकालीमा एमाले गर्जिने गरेको भएपनि अहिले किन लयमा तरंग नभएको भन्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्–‘ ‘कुनै समय एमालेले काकडभिट्टामा सुसेल्दा त्यसको तरङ्ग तत्काल कञ्चनपुरमा गुञ्जिन्थ्यो । अहिले जिग–ज्याग किन ? एमालेको तरङ्ग लयमा सुनिंदैन किन ?’
रिमालले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्–
सुर्खेतबाट शुभबिहानी !
आफैंसंगको प्रतिस्पर्धामा जित्नेले सायद कसैंसंगको प्रतिस्पर्धामा पनि हार्नु पर्दैन । तर अरुलाई प्रतिस्पर्धामा उछिन्न चाहनेले अर्काको शक्ति र दाउपेच भन्दा पहिले आफ्नो शक्ति पहिचान गर्न सक्नुपर्छ । आफ्नो क्षमता यत्ति हो, आफ्नो दुर्बलता यत्ति छ, आफ्ना सामुन्ने देखिएका संभावनाहरु यी/यी हुन् र सफलताको बाटोमा रहेका तगाराहरु यस्ता/यस्ता छन् भन्ने बिषय जसले ठीक/ठीक पत्ता लगाउँछ, उसैले प्रतिस्पर्धामा बाजी मार्छ ।
अहिले एमाले आत्मपरीक्षणमा व्यस्त छ । ‘मिसन ग्रासरुट’ नाममा झण्डै २ महिनादेखि चर्चामा रहेको एमालेको ‘होल–बडी चेकअप’ कार्यक्रममा ‘फाइन्डिङ्स’को जानकारी लिन हामी अहिले कर्णाली प्रदेशको ‘क्यापिटल–सिटी’, सुर्खेतमा छौं । एकजना सहभागीले सोध्नु भयो– ‘कुनै समय एमालेले काकडभिट्टामा सुसेल्दा त्यसको तरङ्ग तत्काल कञ्चनपुरमा गुञ्जिन्थ्यो । अहिले जिग–ज्याग किन? एमालेको तरङ्ग लयमा सुनिंदैन किन?
हामी अहिले त्यही ‘किन’को उत्तर खोजी रहेछौं । ‘फलानोले यस्तो गर्यो, चिलानोले त्यस्तो गर्यो … र, यस्तो भयो’ हामीले खोजेको उत्तर होइन । यसले हाम्रो सामर्थ्य चिनाउँदैन। हाम्रा प्रतिस्पर्धीहरु– ‘फलाना, चिलाना, ढिस्काना … ’हरु हुन भने स्वभाविक हो उनीहरुले त आफ्ना प्रतिस्पर्धीलाई उछिन्न जानेको सबैथोक गरि हाल्छन नी! हामीले त आफूलाई पानी दर्के पनि, असिना बर्षे पनि … … या भनौं जस्तो सुकै हावाहुरी चले पनि सतिसाल झैं ठिङ्ग पो उभ्याउन सक्नुपर्छ!
त्यो कसरी? ‘कसरी’को जवाफ कर्णालीका कमरेडहरु हिजोदेखि खोज्दै हुनुहुन्छ । भोली र पर्सी लुम्बिनीका साथीहरु हाम्रो प्रतिक्षामा हुनुहुनेछ । यो प्रकृया सुदूरपश्चिम, गण्डकी, मधेस, कोशी र बागमती प्रदेश हुँदै २२ गते काठमाडौं उपत्यकामा आएर टुङ्गिने छ । मिसन ग्रासरुट अर्थात् एमालेको सोल–सर्चिङ मिसन! आफूद्वारा आफ्नै क्षमता–पहिचानको अभियान !
संवाददाता । मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित