प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ जित नजिक पुगेका छन् ।
पछिल्लो परिणामअनुसार ६० हजार ६ सयभन्दा बढी मत गणना हुँदा उनले ४३ हजार १०१ भोट प्राप्त गरेका छन् । लामिछानेका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याएका छन् । लामिछाने-श्रेष्ठबीचको मतान्तर ३५ हजार १४९ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।
चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब गणना हुन बाँकी मत करिब १७ हजार मात्र छ ।
गत ४ मंसिरको निर्वाचनमा उनी यही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । त्यो बेला लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए ।
संवाददाता । मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित