डोल्पामा इन्स्पेक्टरले हवल्दारलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका हुन्।
कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका– ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले मरणासन्न हुने गरी कुटपिट गरेको आरसीले बताए।
‘कुटपिटबाट आँखा, नाक र मुखमा चोट लागेको छ। डोल्पा अस्पतालमा उपचार हुने सकेन। डाक्टरले नेपालगन्ज रिफर गर्नुभएको छ,’ उनले भने, ‘आज मौसम खराब भएर जहाज पनि आएन। भोलि बिहानै उपचारका लागि नेपालगन्ज जान्छु।’
उनले आफ्नो उपचारखर्च इन्स्पेक्टर व्यहोर्नुपर्ने र कुटपिटमा कारबाही हुनुपर्ने माग राखेका छन्। उनले आफूले मदिरा सेवन गरेको गल्ती स्विकार्दा–स्विकार्दै पनि कुटपिट भएको बताए। कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगन्ज जान सुझाव दिएको बताए। यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक बुढाथोकीले घटना गम्भीर भएकाले छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने बताए।
संवाददाता । आइतबार, बैशाख १७, २०८० मा प्रकाशित