काठमाडौँ २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् ।
शनिवार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताए । उनले कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताए ।
उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए । उनले अब आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउन सक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताए ।
उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । सिङ्गै फिल्म देखिने वाला छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ । म लगायत केही नेता साथीहरू माइतीघर मण्डलाको चिसो पिच बाटोमा पलेँटी कसेर बसेका थियौँ । धेरै थिएनौँ । त्यति बेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे मध्येकाहरुले बडो व्यङ्ग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेरत भन्थे, माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ ।’
प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गर्जनसके बहुमतमा पुग्ने बताए ।
संवाददाता । शनिबार, बैशाख २३, २०८० मा प्रकाशित