कालिकोट, २६ वैशाख । मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन् । बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै मुग्लान पस्ने क्रम बढेको हो ।
वर्षौंदेखि ज्याला मजदुरी गर्न भारत जाने गरेका पलाँता–३ का नरेश बम सिफारिस लिन मान्मस्थित जिल्ला प्रशासन कार्यालय पुगे । प्रशासनमा भारत जाने निवेदनसहित उनले नागरिकता प्रमाणपत्र र वडा कार्यालयले दिएको सिफारिस पेस गर्नुप¥यो ।
जिल्ला प्रशासनले ‘रोजगारीको सिलसिलामा भारत जाने भएकाले निजको चालचलन बुझिदिनू’ भन्दै प्रहरीलाई पत्र लेख्यो । प्रहरीले सीआरएस अभिलेखमा चालचलन राम्रो रहेको, आपराधिक संगठनमा नरहेको, कुनै राजनीतिक दलमा संलग्न नभएको र फौजदारी अभियोगमा सजाय नपाएको पत्र दिएपछि मात्र उनलाई प्रशासनले सिफारिस दियो । ‘अचेल त भारत जान पनि जिल्ला प्रशासनको सिफारिस चाहिने भयो,’ बमले गुनासो पोखे, ‘गाउँ र जिल्लामा सिफारिस बनाउनै पाँच दिन लाग्यो ।’
उनले यो प्रक्रिया पूरा गर्न करिब ५ हजार रुपैयाँ खर्च भएको बताए । शुभकालिका–१ छातीगाउँका हर्क कामीसहित सातजनाको टोली पनि केदारनाथ जान सिफारिस लिन प्रशासनकै लाइनमा थिए । ‘सिफारिस नलिए जान दिँदैनन् रे,’ हर्कले भने ।
बिनारोकतोक भारत र नेपाल गर्दै आएका कालीकोटका स्थानीयले एक वर्षदेखि सास्ती खेप्दै आएका छन् । ज्याला मजदुरीको प्रमुख गन्तव्य केदारनाथ जान सिफारिस हुनैपर्छ । मजदुरी गर्न कालीकोटका कोही पनि केदारनाथ जानुअघि प्रशासनबाट सिफारिस लिन्छन् । गत १० चैतयता मात्र ५ हजार ८ सय ३६ जनाले सिफारिस लिएको निमित्त प्रहरी प्रमुख सुवराज बमले बताए ।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार कालीकोटका बासिन्दालाई मात्र केदारनाथमा सिफारिस चाहिन्छ । गत वर्ष जेठमा केदारनाथ मन्दिर जाने क्रममा एक भारतीय बालक भीरबाट खसेका थिए । सँगै रहेका कालीकोटका एकजना उनीसँग रहेको आइफोन र सुनको लकेट लिएर भागेको हल्ला चलेको थियो । त्यसपछि त्यहाँको प्रहरीले कालीकोटवासी मजदुरलाई केदारनाथ प्रवेशमा रोक लगाएको प्रजिअ माझीले बताए ।
गाउँघरमै रोजगारी दिने वाचासहित बनेका प्रदेश एवं स्थानीय सरकारले पनि काम खोज्दै भारत जानुपर्ने बाध्यता रोक्न सकेका छैनन् । पलाँता गाउँपालिकाका नवराज सुनार भारत नजाने सोचमा थिए तर उनको चाहना केही महिना पनि टिकेन । गाउँघरमा काम पाउने अवस्था नभएपछि ऋणको भारी बोकेर भारत जानुपरेको उनले गुनासो पोखे । राजधानी दैनिकबाट
संवाददाता । मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित