सुर्खेत, १ जेठ । लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिक केन्द्र कर्णाली प्रदेशको सुर्खेतमा सार्न सांसद हृदयराम थानीले माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दे उनले भने, ‘कर्णाली प्रदेशको प्रहरी तालिम केन्द्र अहिले पनि लुम्बिनी प्रदेशको नेपालगन्जमा राखिएको छ । त्यसैले यसलाई छिटो भन्दा छिटो कर्णाली प्रदेशमा स्थानान्तरण गर्नुपर्दछ भनि गृह मन्त्रालय संग माग गर्दछु ।’
यस्तै उनले कर्णाली प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशमा स्थानान्तरण गरि सुर्खेतको पंचपुरी नगरपालिका वडा नम्बर ८ को दुलालथाईको मौरीडाँडामा रहेको जग्गा प्रयोगमा लिँदा कुनै पनि प्रकारको क्षती नहुने भएको त्यस ठाउँमा राख्न उपयुक्त हुने बताए । उनले भने, ‘उक्त स्थानमा प्रदेश प्रहरी तालिम केन्द्र राख्नका लागि पंचपुरी नगरपालिका लगायतका स्थानीय तहले स्विकृत दिएका छन । त्यस्तै सुर्खेतको जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पत्र पठाएको अवस्था छ । हामी सांसदले पनि गृह मन्त्रालयमा निवेदन पेश गरेका छौ । त्यसैले मेरो माग रहन्छ कि कर्णाली प्रदेशको प्रहरी तालिम केन्द्र नेपालगन्जमा राखिरहनु उपयुक्त नहुने भएकोले छिटो भन्दा छिटो यसको स्थानान्तरण कर्णाली प्रदेशमा नै गरियोस् भन्ने मेरो माग छ ।’
संवाददाता । सोमबार, जेठ ०१, २०८० मा प्रकाशित