दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाही र भक्तपुर नगरपालिका मेयर सुनील प्रजापतिबीच भेटघाट भएको छ । देशका विभिन्न स्थानीय तहबीच अनुभव आदान–प्रदान गर्ने क्रममा भक्तपुरका मेयर प्रजापति र मेयर शाहीबीच भेट भएको हो ।
सो क्रममा मेयर प्रजापतिले नगरक्षेत्रमा भइरहेको घरदैलो नर्सिङ, वडा–वडामा स्वास्थ्य केन्द्र, ख्वप अस्पताल सञ्चालन र निःशुल्क अक्सिजनलगायत व्यवस्थाबारे जानकारी गएका थिए । उनले भक्तपुर नगरपालिकाको भौगोलिक अवस्था, शैक्षिक विशेषता, स्वास्थ्य क्षेत्रको उपलब्धि र विकास निर्माणमा उपभोक्ता मोडलबारे जानकारी दिएका थिए ।
भेटमा चामुण्डा बिन्द्रासैनीका मेयर शाहीले जनप्रतिनिधिबीचको अनुभव आदान–प्रदानले आपसमा सिक्दै अगाडि बढ्न ऊर्जा मिलेको बताए । भक्तपुर नगरपालिकाले विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको उपलब्धिबाट आफूहरूले पनि सिक्न चाहेको बताए । उनले कलेज सञ्चालन गर्न र विद्यालयको व्यवस्थापन गर्न भक्तपुर नगरपालिकाले बनाएको शिक्षा ऐनबारे समेत जिज्ञासा राखेका थिए ।
संवाददाता । बुधबार, जेठ ०३, २०८० मा प्रकाशित