सुर्खेत, ६ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ को चिहान डाँडामा बन्दै गरेको सामुदायिक भवन निमार्णको काम रोकिएको छ । प्रक्रिया विपरित वडाले भवन निमार्ण कार्य सुरु गरेपछि निमार्ण कार्य रोकिएको हो ।
वडाले राष्ट्रिय बनको जग्गामा भवन निमार्णको कार्य सुरु गरेको थियो । गत बैशाखबाट वडाले करिब १९ लाख बजेट रकम छुट्टाएर काम सुरु गरेकोमा हाल डिभिजन बन कार्यालय सुर्खेतमा राष्ट्रिय बनको जग्गामा भवन निमार्ण कार्य सुरु भएको भन्ने निवेदन परेपछि निमार्ण कार्य रोकिएको छ ।
हाल भवन निमार्णको लागि फिल्ड पनि खनिसकिएको छ । वडाको लापरवाही र गैरजिम्मेवार कामले वडाको बजेट दुरुपयोग भएको स्थानीयहरु बताउँछन् । एकजना स्थानीयले कर्णाली मिडियालाई भने, ‘बारम्बार राष्ट्रिय बनको जग्गामा भवन नबनाउन अनुरोध गरेको भएपनि वडाले यस बारेमा चासो दिएन । अझ वडाले प्रक्रिया विपरित उपभोक्ता समिती गठन गरेर निमार्ण प्रक्रिया अगाडी बढाएको थियो । बनको जग्गा अधिक्रमण गरेर रुख समेत काटिएको छ ।’
यता वीरेन्द्रनगर १६ का वडाअध्यक्ष डण्ड बहादुर विक भने सामुदायिक भवनको काम रोकिएकोमा असन्तुष्ट देखिन्छन् । उनले सामाजिक संजालबाट आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन् । ‘वीरेन्द्रनगर १६ मा बन्न लागेको सामुदायिक भवन मुद्दा परेपछि स्थगित भएको छ । विकास रोकिनु के फाइदा होर ?’ कर्णाली मिडियासँग कुरा गर्दै उनले भने, ‘वडाले सामुदायिक भवन बनाउनको लागि काम अगाडी बढाएको र निमार्ण कार्य सुरु भइसकेकोमा सामुदायिक भवनले राष्ट्रिय बनको जग्गा अधिक्रमण गरेको र फिल्ड खन्दा रुख समेत काटिएको भनि स्थानीयले डिभिजन बन कार्यालय सुर्खेतमा निवेदन दिएकोले बनले तत्काल निमार्ण कार्य रोक्न निर्देशन दिएपछि निमार्ण कार्य रोकिएको छ । डिभिजन बनले आवश्यक अनुसन्धान गरेको छ ।’ यस्तै रुख काटिएको बिषयमा भने वडा अध्यक्ष अन्जान रहेको बताउँछन् । यसो त सामुदायिक भवन निमार्ण कार्य अगाडी बढाउँदा राष्ट्रिय बनबाट कुनै पनि अनुमती नलिएको पनि वडाअध्यक्ष बताउँछन् ।
डिभिजन बन कार्यालय सुर्खेतका डिभिजनल बन अधिकृत मुन बहादुर रावतले हाल अनाधिकृत रुपमा बन क्षेत्र अधिक्रमण गरेको र रुख काटेको बिषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘बन क्षेत्रको अधिक्रमण गरेर सामुदायिक भवन बनाउन लागिएको भन्ने डिभिजन बन कार्यालय सुर्खेतमा खबर आएपछि यस कार्यालयबाट कर्मचारी गएर ल्याएको स्थलगत रिपोर्ट अनुसार केही व्यक्तिलाई समातेर ल्याएको र आवश्यक अनुसन्धानको लागि जिम्मेवारीमा छोडिएको छ । अहिले थप अनुसन्धान भइरहेको भने भवन निमार्ण कार्य पनि रोकिएको छ ।’
यसै समाचार सम्बन्धि थप विवरण (भिडियोसहित) :
संवाददाता । शनिबार, जेठ ०६, २०८० मा प्रकाशित