राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । मङ्गलबार रातिबाट वर्षा भइरहेका कारण हवाई सेवा बन्द भएको हो । नेपालगन्ज र सुर्खेत विमानस्थलबाट सिमकोटका लागि जहाजहरूले उडान भर्न नपाउँदा यात्रु मर्कामा परेका छन् ।
कार्गो सामान ढुवानी हुन नसकेपछि सिमकोट बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिन थालेको छ । पानी पर्ने र बादल लागिरहने भएका कारण सिमकोटका लागि सुर्खेत र नेपालगन्जबाट कुनै पनि उडान हुन सकेका छैनन् । उडान नै कम भइरहेका बेला झन् खराब मौसमका कारण सेवा नै अवरुद्ध हुँदा हुम्लावासी मर्कामा परेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए ।
नेपालगन्जबाट समिट र सीता एयरको जहाजले उडान भर्ने तयारी गरे पनि खराब मौसमका कारण सुर्खेत र नेपालगन्ज झर्ने यात्रुहरू पनि सिमकोटमै रोकिनु परेको गिरीले बताए ।
संवाददाता । शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित