राष्ट्रिय स्वतन्त्र पार्टीले रेशम चौधरीलाई आममाफी दिलाउन गरेको निर्णय आममाफीको मर्मविपरित मात्रै नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको ठहर गरेको छ ।
सो दलका महामन्त्री मुकुल ढकालले आज एक विज्ञप्ती जारी गर्दै चौधरीलाई आममाफी दिनु विधि र विद्यमान कानूनी व्यवस्था अनुकुल नरहेको भन्दै सरकारलाई सचेत गराउन चाहेको पनि उल्लेख गरेका छन् ।
यस्तो छ रास्वपाले जारी गरेको विज्ञप्ती
विज्ञप्ति
मिति २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
प्रधानमन्त्री पुष्पकमल दाहाल स्वंयले सदनको रोस्टमै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरीकाले सरकार लागिपरेको कुरा खुलेर बताउनुभयो । सरकारको यो कदम पुर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई दुरुप्रयोग गरी तीनै तहको अदालतबाट जन्मकैद पाएका चौधरीलाई यही जेठ १५ गते गणतन्त्र दिवसको दिन छुटाउन नियोजित रूपमा सरकार लाग्नु कतही विधि सम्मत होइन ।
आममाफीको व्यवस्था भनेको कैद भुक्तानी गरिरहेका व्यक्तिको चालचलन तथा अन्य मानवीय अवस्थालाई विचार गरी निजलाई सत्मार्गमा अगाडि बढ्न दिइने एक अवसर हो । तर सरकारको कदम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ तथा सजाय माफी, मुल्तजी तथा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ को समेत विपरित रहेको छ ।
कुनै पनि राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरु पीडित हुनुहुँदैन । नागरिकका हक अधिकार प्राप्तिका लागि गरेका कुनै पनि आन्दोलनप्रति हाम्रो विमत्ति छैन तर राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन सक्दैन । सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकको संशोधन प्रस्ताव राख्ने क्रममा पार्टीले सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधका अपराधीलाई छुट हुनु हुँदैन भन्ने कुरा उठाएको थियो । कुनै पनि अपराधको निरुपण निष्पक्ष न्यायिक प्रक्रियाबाट हुनुपर्छ । यस्तोमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार्य हुँदैन ।
टीकापुर घटनाको छानविन गर्न सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्छ । जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानुनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत हो । तसर्थ निजलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेकाले सरकारलाई सचेत गराउन चाहन्छौं ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, जेठ १४, २०८० मा प्रकाशित