कैलालीको चिसापानीस्थित कर्णाली नदी पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण दुर्घटना बढ्ने जोखिम बढेको हो ।
चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भए पनि सडकमै टिकटक बनाउनेहरूका कारण जोखिम बढाएको हो ।
चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रूपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो ।
कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाउँदा सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा सवारी पास गर्न समेत समस्या हुनेगरी टिकटक बनाउनेहरूले भरिने बताए ।
‘सवारी साधन साइडमा राखेर राजमार्गबीच सडकमा नै बसेर टिकटक र सेल्फी खिच्ने गर्छन् । शनिवार र बिदाको दिन त यहाँ धेरै भिडभाड हुन्छ,’ उनले भने, ‘त्यस्तोमा त सवारी साधन पास हुनसमेत समस्या हुन्छ । यसले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई व्यवस्थित बनाउँदा सबैलाई फाइदा पुग्ने थियो ।’
पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्न पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेको छ । २०५० सालमा जापानिज कम्पनीले निर्माण गरेको पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेका थिए ।
संवाददाता । शनिबार, जेठ २०, २०८० मा प्रकाशित