Karnali Media
२०८३ भदौ १७ , बुधबार

अब २० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज शुक्रवारदेखि नगर माइक्रोबस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै २० रुपैयाँमा वीरेन्द्रनगर घुम्न सकिने भएको हो ।

वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्दै नरपालिकाका मेयर मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा सुरु भएसँगै नगरवासीलाई सहज हुने बताइन् । नागरिकको आवश्यकतानुसार नगर माइक्रोबस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको उनको भनाइ छ ।

व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै मेयर ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रोबस सेवाले राहत दिने विश्वास व्यक्त गरिन । उनका अनुसार नगर माइक्रोबस सेवा संयुक्त काउन्टरबाट सञ्चालन हुनेछ ।

वीरेन्द्रनगरमा एक पटक बसमा चढेर झर्दासम्मको भाडादर २० रुपैयाँ कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए । बस धुलियाबिट, एयरपोर्टचोक, मंगलगढीचोक, यरिचोक, मुलपानी, प्रदेश अस्पताल, हिलेखाली हुँदै बाङ्गेसिमलसम्म पुग्नेछ र सोही रुटबाट फर्किने छ।


यात्रुलाई सहज सेवा दिनका लागि सहुलियत भाडादर कायम गरिएको अध्यक्ष सापकोटाले बताए । आवश्यकता अनुसार अन्य रुटमा पनि संचालन गरिने बताए । १० वटा माइक्रोबस १०–१० मिनेटको फरकमा छुट्नेछ ।

सुर्खेतमा अटोरिक्सामा प्रतिकिलोमिटर ५० देखि एक सय ५० रुपैयाँसम्म भाडा लिने गरेकाेमा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।

भिडिओ:

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार