कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानसहितको बजेटसँग सम्बन्धित दुई विधेयक प्रदेशसभामा टेबुल गरिएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको एघारौँ बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०८०’ र ‘कर्णाली प्रदेश विनियिोजन विधेयक, २०८०’ को एक/एक प्रति सभासमक्ष टेबुल गर्न समय दिइन् ।
सभामुख गुरुङले समय दिएसँगै आर्थिक मामिलामन्त्री सिंहले कर्णाली प्रदेशसभा नियमावली २०७९, परिच्छेद १७ को नियम १३६ को उपनियम–२ बमोजिम कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानसहितको बजेटसँग सम्बन्धित दुईवटा विधेयक सभामा टेबुल गरे ।
प्रदेश सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान बजेटमाथिको सामान्य छलफलका लागि यही असार ४, ५ र ६ गते तोकिएको जनाउँदै सभामुखले उक्त छलफलमा भाग लिने सदस्यलाई सचिवलायमा नाम टिपाउन सूचना गरेकी छन् । सभाको बाह्रौँ बैठक सोमबार दिउसो ३ः०० बजे बस्नेछ ।
संवाददाता । शनिबार, असार ०२, २०८० मा प्रकाशित