नेपाल विद्युत् प्राधिकरणले देशभित्र विद्युत् आपूर्ति कटौती गरी भारततर्फ निर्यात नगरेको प्रस्ट पारेको छ । प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी विगत केही दिन प्रणालीमा प्राविधिक गडबडी हुँदा देशको मध्य र पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा केही समस्या भएकामा अहिले समाधान भइसकेको जनाएको छ ।
‘देशभित्र विद्युत् कटौती गरी निर्यात गरेको चर्चा हुने गरेको जुन सत्य हैन, देशभित्र उत्पादित विद्युत् यहाँ पुग्नेजति खपत गरी बढी भएको मात्र निर्यात गर्ने हो, खपत र निर्यात सँगसँगै जान्छ, खपत गरी बढी भएको विद्युत् निर्यातमार्फत बिक्री गरेनौं भने प्राधिकरणलाई करौंडौ रुपैयाँ घाटा हुन्छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘केही दिन प्रणालीमा गडबडी भएको सत्य हो, दिनमा ११ पल्टसम्म ट्रिपिङ भएको देखिन्छ फल्ट पत्ता लगाएर अहिले सुधार गरिसकेका छौं, प्रणाली नै गएपछि विद्युत् निर्यात पनि हुँदैन ।’
प्रसारण तथा वितरण प्रणालीको क्षमताले नधान्दा वीरगन्ज औद्योगिक करिडोर र बाँकेको कोहलपुर क्षेत्रका उद्योगहरुमा साँझको पिक समयमा विद्युत् आपूर्तिमा केही समस्या रहेको उल्लेख गर्दै घिसिङले विद्युत् कटौती गरेर निर्यात नगरिएको दाबी गरे । प्रसारण तथा वितरण प्रणाली सुधारका लागि अगाडि बढाइएका योजना तथा कार्याक्रम कार्यान्वयनका लागि जताततैबाट अवरोध हुने गरेको उनको भनाइ छ ।
संवाददाता । आइतबार, असार ०३, २०८० मा प्रकाशित