मध्यपश्चिम विश्वविद्यालयको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।
मुख्यमन्त्री, उपकुलपति र रजिष्ट्रारद्वारा केन्द्रीय प्रशासनिक भवन परिसरमा वृक्षारोपण गरी समारोहको सुरुवात गरिएको थियो ।वीरेन्द्रनगर, सुर्खेत कुईनेपानी स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजित समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको समग्र विकास र उन्नयनका लागी दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए । उनले कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालय विच थप सहकार्य गर्दै जाने कुरा उल्लेख गर्दै कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नु पर्ने बेला आएको बताए । यसै सन्दर्भमा यस पटक कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान र विकास कार्यक्रमका लागि सहयोग गर्ने भनि उल्लेख भएको समेत जानकारी दिएका थिए ।कार्यक्रममा उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालयको एकीकृत भीजन र विश्वविद्यालयको प्रगती प्रस्तुत गरेका थिए । कार्यक्रमको समापनमा बोल्दै उनले अबको विश्वविद्यालयहरुले संसारै भरी प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी उत्पादन गर्नु पर्ने र मध्यपश्चिम विश्वविद्यालय यस प्रति कटिबद्ध रहेको कुरा व्यक्त गरे । साथै कर्णाली प्रदेश सरकारले गरेको सहकार्य र सहयोग गर्ने प्रतिबद्दता प्रति धन्यवाद प्रकट गरेका थिए ।स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । समारोहमा उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप. प्रा. पन्चदेव भट्टले विगत तिन वर्षको अवधिमा विश्वविद्यालयमा भएको रुपान्तरण सम्बन्धी डकुमेन्ट्री भिडियो प्रस्तुत गरेका थिए ।
समारोहमा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, सुरक्षा निकायका अधिकारी, कर्मचारी, विद्यार्थी, चन्दादाता, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
संवाददाता । आइतबार, असार ०३, २०८० मा प्रकाशित