उपप्रधान एवं रक्षामन्त्री तथा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै खड्काले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै कसैप्रति औँला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गरे ।
कार्यवाहक सभापति खड्काले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए । उनले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको बताए ।
पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने उनको भनाइ छ । पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उनले बताए । कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए ।
‘मेरा कमजोरी र गल्तीहरूलाई सच्याएर, स्वीकारेर म रूपान्तरणका लागि तयार हुने कि नहुने ? म रूपान्तरण हुन तयार हुने हो । व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा । सबै शैलीमा म रूपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया सुरु हुन्छ, चाहे पार्टीको होस्, रूपान्तरणको प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।
संवाददाता । सोमबार, असार ०४, २०८० मा प्रकाशित