आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ । टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।
सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक कुनै विकल्प छैन । विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।
यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।
नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ । दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो ।
हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।
संवाददाता । शनिबार, असार ०९, २०८० मा प्रकाशित