जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिइएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए ।
घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले पाँच हजार रुपैयाँ भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भइ कार्यान्वयनमा आएको उनले बताए । ।
बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई प्रोत्साहन स्वरुप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार यहाँका २६ जना सुत्केरीलाई रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ ।
सिञ्जाका सबै वडामा प्रसूति गृह निर्माण भइ सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संवाददाता । शनिबार, असार ०९, २०८० मा प्रकाशित