विमानको प्राविधिक परीक्षण गर्ने भन्दै श्री एयरलाइन्सले आज (आइतबार) का लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।
एयरलाइन्सले एक सूचना जारी गर्दै आज एक दिन देशभरका सबै उडान स्थगित गरिएको जानकारी गराएको हो । भोलि (१८ असार) देखि सम्पूर्ण उडानहरु संचालन हुने उक्त एयरलाइन्सले जनाएको छ ।
यसअघि शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको थियो ।
जहाजमा लगातार समस्या आउन थालेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको सल्लाहमा श्री एयरलाईन्सले आज सबै उडान रद्द गर्दै विमानको प्राविधिक परीक्षण गर्ने भएको हो ।
हवाई सुरक्षामा लापरबाही गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्सका सबै विमान ग्राउन्डेड गर्नेसम्मको चेतावनीसहित सचेत गराएको जनाइएको छ । एयरलाइन्स आफैँले यस्ता प्राविधिक समस्या नदोहोरियोस् भनेर सबै विमानको परीक्षण गर्ने निर्णय भएको जनाएको छ ।
संवाददाता । आइतबार, असार १७, २०८० मा प्रकाशित