सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ४ बाल्लेखोलादेखि बाल्ले जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर गएराती दुर्घटना भएको हो ।
दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका ५ तलधरी बस्ने अन्दाजी २६ को राम बहादुर बुढाथोकीको सोही ट्याक्टरको ट्रलीले च्यापी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बाल्लेखोलादेखि बाल्लेमा निर्माणाधीन स्वास्थ्य चौकीको बालुवा लोड गरि जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । ट्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको छ ।
संवाददाता । शुक्रबार, असार २९, २०८० मा प्रकाशित