सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले वडा नम्बर १० मा हाट बजार संचालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार संचालनमा ल्याएको हो ।
कृषकहरुले उत्पादन गरेको कृषि उपज विक्रि वितरण गर्न सक्नेगरी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा हाट बजार संचालनमा ल्याएको हो । १० लाख रकम लगानी गरेर संचालनमा ल्याइएको हाट बजारको शुक्रबार उद्घाटन गरिएको छ । नगरपालिका प्रमुख मोहनमाया ढकालले उक्त हाट बजारको औपचारिक रुपमा उद्घाटन गरेकी हुन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले लामो प्रयासपछि आफुहरुले हाटबजार संचालनमा ल्याउन सकेको भन्दै यसले बजार व्यवस्थापनसँगै कृषकलाई सम्मान पुग्ने विश्वास व्यक्त गरिन । कृषि प्रधान देशका नागरिक रहेको भन्दै कृषि उत्पादनमा जोडिएर आत्म निर्भर हुन आवश्यक रहेको औल्याउदैँ । उनले भनिन, “यो हाटबजारले कृषकहरुलाई आफ्ना उत्पादन आफै बेच्न सहज भएको छ, हामी कृषि प्रधान देशका नागरिक भएको हुँदा कृषि उत्पादनलाई जोड दिनुपर्छ अनि मात्रै आत्म निर्भर हुन सक्छौँ ।”
यस्तै वडा नम्बर १ र २ लाई समेटेर समेत यस्तै कृषि हाटबजार संचालनमा ल्याउने योजना नगरपालिकाको रहेको उनको भनाई छ ।
संवाददाता । शुक्रबार, असार २९, २०८० मा प्रकाशित