महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत छात्राहरुले ‘दलित’ भएकै कारण कोठा पाउन मुस्किल गुनासाे गरेका छन्।
सुदूरपश्चिम विश्वविद्यालयमा बिएलएलएलबी दोस्रो वर्षमा अध्ययनरत दैलेखको आठबीस नगरपालिकाकी तुल्सी विक र उनकी साथी भगवतीमाई गाउँपालिकाकी मनिषा चन्द (ठकुरी)लाई कोठा पाउन मुस्किल भएको हो।
कानुन पढ्न टिकापुरबाट महेन्द्रनगर पुगेका उनीहरुले एक महिनासम्म कोठा खोज्दा पनि पाउन मुस्किल भएको गुनासो गरे। ‘हामी यहाँ आएको एक महिना भयो। अहिलेसम्म कोठा खोज्नको लागि धेरै ठाउँ धायौँ’, तुल्सीले भनिन्, ‘जहाँ गएपनि जात के हो ? भनेर सोध्छन्, नागरिकता माग्छन् अनि ‘दलित’ हो भन्ने थाहा पाएपछि कोठा छैन भन्छन्।’
घरबेटीहरुले सुरुमा राम्रै कुरा गर्ने र पछि ‘दलित’ हो भन्ने थाहा पाएपछि ‘देउता रिसाउँछन्’, ‘बिरामी भइन्छ, कोठा दिन मिल्दैन’ भन्नेजस्ता अभिव्यक्ति दिएर कोठा दिन आनकानी गरेको तुल्सीले बताइन्।
उनीहरुले एक महिनाअघि महेन्द्रनगर आएका थिए। उनीहरुले सुरुमा करिब दुई हप्ता लगाएर एउटा सानो कोठा पाएका थिए। तर, त्यो कोठा पनि छाड्नुपर्ने भएको र अन्य ठाउँमा सर्न खोज्दा कोठा नपाएको उनीहरुको गुनासो छ।
‘यहाँको घरबेटी घरको तला थप्ने भनेको छन्। त्यसैले काम सुरु गर्नुअघि हामी सर्नुपर्ने छ। त्यसैले हामीले कोठा खोज्न सबैतिर चाल्यौँ तर कहीँ पाउन सकिएन’, मनिषाले भनिन्, ‘यस्तो मैले कहीँ देखेकी थिइन्।’ उनले मान्छेले मान्छेमाथि यसरी विभेद गरेको देख्दा खिन्न लागेको बताइन्।
यहाँ कोठा पाउनको लागि केहीले त थर नै लुकाएर बस्ने गरेकाे मनिषाले बताइन्।
संवाददाता । शनिबार, असार ३०, २०८० मा प्रकाशित