नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेशबाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति मधेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ ।
सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

संवाददाता । आइतबार, असार ३१, २०८० मा प्रकाशित