सुर्खेत । “सुरक्षित कर्णाली बिशेष अभियान, २०८०” अन्तर्गत कर्णाली प्रहरीले ‘घरघरमा स्टिकर टाँस अभियान’ सुरु गरेको छ । सिघ्र खबर संकलन, सम्बन्धित निकायको पहुच र नागरिकलाई सुरक्षाको अनुभूति गराउँने उदेश्यले प्रहरीले यो अभियान सुरु गरेको हो ।
आइतबार वीरेन्द्रनगर सुर्खेतबाट सुरु भएको अभियानको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, प्रहरी नायव महानिरिक्षक भिम प्रसाद ढकालले उद्घाटन गरेका थिए ।
विभिन्न घटनाहरुको जानकारी नागरिकले प्रहरीलाई उपलब्ध गराएपछि सुचना बमोजिम नजिकको प्रहरी छिटो भन्दा छिटो घटनास्थलमा पुगि आवश्यक सुरक्षा पुर्याउन सकियोस् साथै अपराधिक गतिबिधीहरलाई निरुत्साहित गर्न र नागरिकलाई अझ नजिकबाट सुरक्षाको अनुभूति गराउन सकियोस् भनेर प्रहरीले यो अभियान सुरुवात गरेको जनाएको छ । यो अभियान अन्तर्गत कर्णाली प्रदेशका १० जिल्लाका ३ लाख ७१ हजारभन्दा बढी घरका मुल ढोकामा प्रहरीले महत्वपूर्ण टेलिफोन नम्बर सहितको स्टिकर टाँस गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस अभियानले नागरिक पनि बिना बर्दिको प्रहरी हुने, नागरिकहरुले सूचना दिने र सहयोग लिने कुरामा बुद्धि हुने, नागरिकबाट सुचना प्राप्त हुनासाथ प्रहरी तुरुन्त घटनास्थलमा पुगेर आवश्यक कार्वाही गर्न सक्ने तथा शान्ती सुरक्षामा टेवा पुग्ने, अपराधमा संलग्न व्यक्तीहरु तत्काल पक्राउ पर्ने, नागरिक, प्रहरी र स्थानीय सरकारबीच विश्वासको वातावरण सिर्जना हुने अपेक्षा यो अभियानको रहेको छ ।
संवाददाता । आइतबार, असार ३१, २०८० मा प्रकाशित