पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा झन्डै तीन प्रतिशत घटेको छ ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा रु चार र पेट्रोलमा प्रतिलिटर रु छ घटेको छ ।
त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालवाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
घटाएको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ । नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भाडा समायोजनसम्बन्धी कार्यविधिमा भएको व्यवस्थाका आधारमा समायोजन गरिएको जानकारी दिए ।
संवाददाता । सोमबार, साउन ०१, २०८० मा प्रकाशित