त्रिभुवन विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अवैध विदेशी मुद्रासहित ४ जनालाई पक्राउ गरेको छ ।
हिमालयन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेका यात्रु रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ तुलसीपुर निवासी २४ वर्षीय अनिस थापा पक्राउ परेपछि थप ३ जना पक्राउ परेका हुन् ।
अमेरिकी डलर ४१ हजार ४००, साउदी रियल १ लाख १९ हजार ५००, ओमान रियल १ हजार ३५७, बहराइनी डिनर ३०८ लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी थापालाई पक्राउ गरेको जनाइएको छ ।

विदेशी मुद्राहरू थापालाई दिने गुल्मीको धुर्कोट गाउँपालिका–७ का २६ वर्षीय सन्तोष पन्थी, सत्यवती गाउँपालिका–६ का ३५ वर्षीय सूर्यमणि भण्डारी र सम्पर्क गराइदिने रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३८ वर्षीय दिपेश रानालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पन्थी, भण्डारी र रानालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान पार्किङ क्षेत्रमा बागमती प्रदेश–०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी सोधपुछ गर्दा अवैध विदेशी मुद्रा दिएको स्वीकारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि बिहीवार जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।
संवाददाता । बिहिबार, साउन ०४, २०८० मा प्रकाशित