हुम्ला । हुम्लाका तीनवटा गाउँमा पहिरोले ठूलो क्षति भएको छ । पहिरोका कारण हुम्लामा ३ गाउँका ९ सय ५० घरधुरी जोखिममा परेका छन् ।
सदरमुकाम सिमकोटबाट ३२ कोष टाढा रहेका रादेउ, उनापानी ग्युँसी र रिप गाउँमा शुक्रबार राति गएको पहिरोले पुल-पुलेसा, खेतबारी, सडक, खानेपानी र बालीनालीमा क्षति पुगेको हो । क्षतिको अनुगमन तथा उद्धारका लागि सदरमुकामबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गए पनि सर्केगाड नपुग्दै चिसामुल भन्ने स्थानमा पहिरो गएपछि खार्पुनाथको सुनखाडामा रोकिएका छन् ।
प्रहरी निरीक्षक राजन भट्टराई नेतृत्वमा गएको ७० जना सुरक्षाकर्मीको टोली सुनाखाडा मै रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । स्थलमार्गबाट गएको टोलीलाई पहिरोले रोकेपछि सेनानी दिनेश खड्काको नेतृत्वमा गएको ४ जनाको टोलीले हेलिकोप्टरबाट अनुगमन गरेर फर्किएको छ ।
यसैबीच पहिरोले १८ किलोवाट क्षमताको तातोपानी लघुजल विद्युत् र १५ किलोवाट क्षमताको रिपगाड लघुजलविद्युत परियोजनाको पावर हाउसमा क्षति पुर्याएपछि रिप र उनापानीका ६ सय १५ घरधुरी बिजुलीविहीन भएका छन् ।
सर्केगाड गाउँपालिका २ रिप र २ उनापानीका विद्युत् गृहबाट उत्पादन हुने बिजुली बाढी पहिरोले बन्द भए पछि उनापानीका ३ हजार ५ सय र रिपका ३ हजार स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएको सर्केगाड गाउँपालिका ३ उनापानीका वडाध्यक्ष अकिल कार्किले बताए । उनले भने पहिरोले पावर हाउसमात्र नभई विद्युत् गृहको टर्वाइन, पाइप, नहर र भवन सबै बगाएको छ ।
संवाददाता । आइतबार, साउन १४, २०८० मा प्रकाशित