भारतको उत्तराखण्ड प्रदेशमा रहेको गौरीकुण्डमा गएको पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जनासहित करिब १७ जना नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु हुम्ला र जुम्लाका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोले उनीहरू बसेको होटल बगाएको हो ।पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् ।
बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको भारतीय सञ्चार माध्यम जागरण दैनिकले उल्लेख गरेको छ ।
हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए । उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ । बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको छ ।
घाइते भएका कर्णालीका अधिकांश व्यक्तिहरू रोजगारीका लागि भारत गएका थिए । बेपत्ता भएका १९ जनामध्ये १७ जना नेपाली भएको बताइएको छ ।
संवाददाता । शुक्रबार, साउन १९, २०८० मा प्रकाशित