स्थानिय तहवाट जिनएक्स्पर्ट केन्द्रसम्म खकार संकलनका लागि दुल्लु नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा छुट्याएको रु ९० हजार बजेटबाट खरिद गरिएको रेफ्रिजेरेटर दुल्लु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देव बहादुर थापाको घरमा लगिएको छ ।
दुल्लु नगरपालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थाहरुमा सुरक्षित खकार संकलन र भण्डारण केन्द्र स्थापना गर्ने उदेश्यले दुल्लु नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को क्षयरोग निवारण कार्यक्रम अन्तर्गत खकार संकलन र खकारको सुरक्षित भण्डारणका लागि विनियोजित रु ९० हजार रुपैयाबाट खरिद गरिएको हिमस्टार कम्पनीको फ्रिज स्वास्थ्य शाखा प्रमुख देव बहादुर थापाको घरमा लगिएको पाइएको हो ।
गत असार महीनाको ५ गते नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिका अन्तर्गतका मालिका, गौरी, कालभैरव, गमौडी लगायतका स्वास्थ्य संस्थाहरुमा ओैषधी ढुवानी गर्दा सोहि ढुवानीमा प्रयोग गरिएको बोलेरो जिपमा ओैषधी संगै लोड गरी सो फ्रिज स्वास्थ्य शाखा प्रमुख थापाको घर पु¥याइएको हो । फ्रिज संगै फ्रिज राख्न प्रयोग हुने कालभैरव स्वास्थ्य चौकीको स्टोरमा भएको काठको स्टाण्ड पनि सोहि दिन सोहि जिपमा लोड गरि स्वास्थ्य शाखा प्रमुख थापाको घर पु¥याइएको छ ।
नेपाल सरकारले सन २०३० सम्म क्षयरोग मुक्त नेपाल बनाउने अभियान अन्तर्गत छुट्याएको बजेटबाट कार्यक्रमको लक्ष्य प्राप्तिको लागि छुट्याईएको बजेटबाट खरिद भएका यस्ता महत्त्वपूर्ण स्वास्थ्य सामाग्रीहरु जिम्मेवार व्याक्तिले नै दुरुपयोग गर्दा नेपाल सरकारले तोकिएको समयमा लक्ष्य प्राप्त गर्ने कुरामा चुनौती थपिएको छ ।
क्षयरोग निवारणमा दुरदराजमा रहेका गाऊवस्तिमा संभावित क्षयरोगका विरामीहरूको नमुना खकार संकलन गरी सो खकारलाई सुरक्षित भण्डारण गरी जिनएक्सपर्ट केन्द्र सम्म पुर्याउने लक्ष्यका साथ खरिद गरिएका यस्ता स्वास्थ्य सामाग्री हरु स्वास्थ्य शाखा प्रमुखले नै आफ्नो घरमा लगि प्रयोग गर्नुले समग्र दुल्लु नगरपालिकाको स्वास्थ्य प्रणाली र यसको गुणस्तर माथि नै प्रश्नचिह्न खडा भएको छ ।
यता दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणि नेपालले स्वास्थ्य शाखा प्रमुखको घरमा लगिएको प्रिज दुल्लु नगरपालिका वडा नम्बर १२ को स्वास्थ्य चौकिमा राखिने भएकोले आजै उक्त स्वास्थ चौकिमा लैजान निर्देशन दिएको बताएका छन् ।
संवाददाता । मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित