मुगु जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।
सोमवार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा परी घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार पछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।
जिल्ला अस्पतालमा सिटिस्क्यानलगायतका मेसिन नहुँदा समस्या र जटिलता पहिचान गर्न कठिनाइ भएपछि घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको हो ।
वर्षाको पानीले कर्णाली राजमार्गअन्तर्गत गोठी जिउँला–गमगढी सडकखण्डको ठाउँठाउँमा पहिरो गएको र रारा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयले हवाई सेवा अवरुद्ध भएपछि हेलिकप्टरको व्यवस्था मिलाइएको मुगु जिल्लाका सङ्घीय सांसद ऐनबहादुर शाहीले जानकारी दिए ।
जिल्ला अस्पातलमा उपचार सम्भव नहुने भएपछि घाइते चारै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पहल गर्न जिल्ला अस्पातल मुगुबाट आज जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्र लेखेर जानकारी गराइएको थियो ।
सोही पत्र आफूले गृह मन्त्रालय, सङ्घीय सांसद, प्रदेशसभा सदस्यलाई आवश्यक पहलका लागि पठाएको र उनीहरूको पहलमा घाइतेको थप उपचार गर्न नेपाल सरकारले हेलिकप्टरको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।
घाइतेको टाउकोमा चोट देखिएकाले सिटिस्क्यान मेसिन नहुँदा उनीहरूको टाउको चोट कतिको छ भन्ने थाहा नभएको जिल्ला अस्पातल मुगुका डा. नहकुल शाहीले बताए । उनका अनुसार टाउको ‘सपोर्ट’ का लागि आवश्यक सरभाइकल कोलर र स्पाइलल ब्याक सपोर्ट नहुँदा कार्टुनको प्रयोग गरेर भए पनि उपचार गरिएको थियो ।
सोमवार भएको जिप दुर्घटनामा सवार नौ जनामध्ये हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो भने मुगुको सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजङ्ग नेपालीको उपचार गर्न जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो ।
दुर्घटनामा मुगु सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उजिर बोहोरा गम्भीर घाइते भएका थिए ।
सोरु गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार अपराह्न ४ बजे दुर्घटना भएको थियो ।
संवाददाता । मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित