सुर्खेत । त्रिपुरेश्वर मा.वि. ढोडेखालीमा बाल विवाह न्युनिकरण तथा सकारात्मक सिकाईका लागि उपयुुक्त वातावरण निर्माण सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
बुधबार आवाज संस्थाको आयोजनामा शिक्षा सम्बन्धि सरोकारवाला निकायको समन्वयमा विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्नका लागि उचित किसिमको वातावरण निर्माण गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको हो ।
सामुदायिक विद्यालयका शिक्षकहरूबीच विद्यार्थीको सिकाईलाई कसरी सकारात्मक बनाउन उचित किसिमको वातावरण निर्माण गर्न सकिन्छ भन्ने बारेमा अन्तरक्रिया गरिएको छ ।
विद्यालयमा विद्यार्थीकोे सिकाइ क्षणभरको लागि मात्र नभई उनीहरुको जीवनमा समेत काम लाग्ने जीवनोपयोगी हुनुपर्नेमा जोड दिइएको छ । बिद्यार्थीको सिकाई प्रभावकारी बनाउनका लागि बिद्यालयमा शिक्षा र प्रविधिको व्यवस्था हुनुपर्ने, व्यवसाय र आयआर्जनको स्रोत हुनुपर्ने, शिक्षामा नैतिकता, व्यायाम, खेलकुद र सङगीतको व्यवस्था गरिएको हुनुपर्ने लगायतका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा प्रशंसात्मक खोज विधि अन्तर्गत रहेर विद्यार्थीको राम्रो पक्षलाई लिएर विद्यार्थीको प्रशंसा गर्नुपर्ने जसले गर्दा विद्यार्थीको मनोबल बढ्दै जाने र विद्यार्थीलाई पढाईमा थप सहज हुने कार्यक्रमका प्रशिक्षक वीरेन्द्रनगर नगरपालीका शाखा प्रमुख धिरेन्द्र बहादुर शर्माले बताए ।
उनले विद्यार्थीहरुलाई सुरक्षित सिकाईमा जोड दिनुपर्ने बताउदै विद्यार्थीको सेनिटरी प्याड व्यवस्थापन, सफा खानेपानी व्यवस्थापन, आर्थिक, सामाजिक समस्याका साथै यौनिक समस्याहरुमा शिक्षा सरोकार वाला सबैले ध्यान दिनुपर्ने बताए ।
विद्यालयको शिक्षालाई गुणस्तरिय बनाउनका लागी विद्यालयमा शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने हँुदा विद्यालयमा गुनासो सुनवाई, वालमैत्री आचारसंहिता निर्माण गरिएको र सोको कार्यान्वयन भएको हुनुपर्ने शिक्षाविज्ञ मिन बहादुर शाहीको भनाई छ ।
विद्यालय परिसर तथा कक्षाकोठाहरुको अनुगमन गर्दै विद्यालयमा वालमैत्री तथा लैगिंकमैत्री शिक्षण सिकाइ भएको खण्डमा नमुना बिद्यालय बन्ने, विद्यार्थीहरुको सिकाइ उपलब्धी वृद्धि भई वालविवाहको जोखिम समेत कम हुने शिक्षाविज्ञ शाहीले बताए ।
यस्तै कार्यक्रममा वर्तमान समयमा विद्यालय उमेर समुहका विद्यार्थीहरूमा शारीरिक तथा मानसिक रूपमा असर पर्ने, बालविवाह, बाल हिंसा जस्ता गतिविधि हुने भएकाले यस्ता गतिविधिलाई नियन्त्रण गर्न सुरक्षित सिकाई अवलम्बन गरिने त्रिपुरेश्वर मा.वि.ढोडेखालीका प्रधानाध्यापक रुद्र बहादुर खत्रीले प्रतिबद्धता गरेका छन् ।
संवाददाता । बुधबार, साउन ३१, २०८० मा प्रकाशित