दैलेख र सुर्खेतमा शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१० चौखेढुगां खोला पुलको आडैमा मृत फेला परेका सशस्त्र प्रहरी बल रक्तकाली गणमा कार्यरत ४५ वर्षीय वरिष्ठ हवल्दार रामबहादुर थापा रहेका छन्। वीरेन्द्रनगर नगर पालिका – १२ विरुवाबारी भन्ने स्थानमा घर भएका प्रहरी हवल्दार थापा शुक्रवार राती साढे १० बजे ड्युटीमा खटिएका थिए। उनी सहित ७ जना प्रहरी ड्युटीमा रहेका थिए। ठुलो वर्षा आएको र फर्कने बेला माथिल्लो बाटो भएर खोला तर्न लाग्दा उनी बगेर मृत्यु भएको सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले बताए।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुलमुनि मृत भेटिएका दैलेखको दुल्लु नगरपालिका–१० छुवालाका करिब ४० वर्षीय लालबहादुर भण्डारी रहेको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। भण्डारी वीरेन्द्रनगर नगरपालिका –१ मा बस्दै आएका थिए।
त्यस्तै दैलेखका गाउँ गाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँच दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा मृत फेला परेका छन्। स्थानीयले पनि कतै नदेखेको र मोबाइलमा समेत सम्पर्क विच्छेद भएपछि परिवारजनले खोजी कार्य गरिरहेका छन्। मृतक बाजुराको कात्तिकेपानीबाट कैलालीको बडीबर्दगोरिया गाउँपालिका–४ छतिवनमा बस्ने ३१ वर्षीय वीरबहादुर कामी मृत फेला फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताए।
संवाददाता । आइतबार, भदौ ०३, २०८० मा प्रकाशित