सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १० दिपनगर एयरपोर्टचोकमा रहेको फुलबरी मन्टेश्वरी एण्ड चाइल्ड केयर सेन्टरको अभिभावक शिक्षा तथा उत्तप्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ ।
फुलबारी मन्टेश्वरीमा अध्यायनरत विद्यार्थीहरुका अभिभावकहरुलाई विद्यार्थी र विद्यालयप्रति उत्तरदायी बनाउने र विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पु¥याउने उदेश्यले आज यो कार्यक्रम गरिएको हो । फुलबारी मन्टेश्वरीको संचालक लक्ष्मी कुमारी शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्मा र उत्तप्रेरणा प्रशिक्षक रवि किरण मुख्य प्रशिक्षक रहेका थिए । फुलबारी मन्टेश्वरीको अभिभावक शिक्षा तथा उत्तप्रेरणामूलक कार्यक्रममा आएका अभिभावक तथा अतिथीहरुलाई स्वागत गर्दै मन्टेश्वरीको संचालक लक्ष्मी कुमारी शाहीले यस कार्यक्रमले अभिभावकहरुमा आफ्ना वालबालिकाको समग्र विकासका लागि सहयोग पुर्याउने वातावरण सिर्जना गर्न सहयोग पुर्याउने बताइन् । फुलवारी मन्टेश्वरी मार्फत वालवालिकाको शैक्षिक विकासका लागि आफुहरुले वालमैत्री वातावरण सिर्जना गरेको बताउँदै अभिभावकहरुले पनि आफ्ना वालवालिकाको लागि शैक्षिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई थियो ।
उत्तप्रेरणा प्रशिक्षक रवि किरणले विद्यार्थी र अभिभावकका लागि आवश्यक पर्ने विभिन्न उत्तप्रेरणा प्रशिक्षण दिएका थिए । अभिभावक विद्यार्थीको मुख्य गरु भएकोले घरबाट प्राप्त हुने शिक्षा र व्यवहारले विद्यार्थीको समग्र विकासमा मदत पुर्याउने हुँदा घरको वातावरण वालविकासमा मदत पुर्याउने खालको बनाउनुपर्नेमा उनले जोड दिएका थिए । विभिन्न रोचक प्रसंगहरुका साथ उनले दिएको उत्तप्रेरणा कक्षाले अभिभावकहरुमा पनि सकारात्मक सोचको विकास भएको देखिन्थ्यो ।
यता कार्यक्रमका प्रमुख अतिथी नगर शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले मन्टेश्वरीहरुको मुख्य उदेश्य वालवालिकाहरुलाई शैक्षिक ज्ञान दिनुभन्दा पनि विद्यालय जानको लागि तयार गर्ने भएकोले यसमा जोड दिन अनुरोध गरे । उनले भने ‘आज धेरैजसो मन्टेश्वरीहरु विद्यार्थीहरुलाई शैक्षिक ज्ञान दिनमा केन्द्रित भएका छन् । तर मन्टेश्वरीको मुख्य उदेश्य वालवालिकालाई विद्यालय जानको लागि तयार गर्ने भएको हुँदा हामीले मन्टेश्वरीका वालवालिकाको लागि उचित वातावरण तयार गर्नुपर्छ ।’
कार्यक्रममा मन्टेश्वरीमा अध्यायनरत विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो ।
संवाददाता । सोमबार, भदौ ०४, २०८० मा प्रकाशित