Karnali Media
२०८३ असार १८ , बिहीबार

गौहत्याको विरोधमा राप्रपाको ज्ञापनपत्र



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आज राप्रपा सुर्खेतले पनि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।


उनले भने, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ, गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न यस ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।”

सो ज्ञापनपत्रमा गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाको माग गर्नुका साथै देशमा धार्मिक सांस्कृतिक सद्भाव कायम गर्न माग गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार