सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको एक होटलमा मिक्स फ्रुट जाममा सिसाको टुक्रा भेटिएको छ । जेबिएस इन्डष्ट्रिज प्राली इटहरी ५ सुनसरीले उत्पादन गरेको व्याज नम्बर ८००४१०–एस को सगरमाथा मिक्स फ्रुट जाममा सिसाको टुक्रा भेटिएको हो ।
सुर्खेतको होटल भ्याली भ्यूमा जाम खाँदै गर्दा एकजना ग्राहकको भागमा उक्त सिसाको टुक्रा भेटिएको थियो । उनले सिसाको टुक्रा भेटिएपछि कर्णाली मिडियालाई खबर गरेका थिए । हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको टोली सहित होटलमा पुगेर उक्त मिक्स फ्रुट जामको अनुगमन गरेर थप अनुसन्धानको लागि नमुना ल्यावमा पठाउने प्रक्रिया अगाडी बढेको छ ।
यसरी नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको खाद्यबस्तु निमार्ण गर्ने कम्पनीको चरम लापरवाहीले आम नागरिकको स्वास्थ्यमा जोखिम निम्तीएको छ । फ्रुट जाममा सिसको टुक्रा भेटाएका गुर्भाकोट नगरपालिका १४ गुमीका हिरा मगरले यस्तो लापरवाहीले नागरिकहरु जोखिमा परेको बताए । आफुले राम्रो संग नहेरको भए ठुलो क्षती हुने बताउँदै उनले खाद्य उत्पादन कम्पनीले यसमा ध्यान दिनुपर्ने बताएका छन् ।
हामिले उक्त फ्रुट जाम उत्पादक कम्पनी जेबिएस इन्डष्ट्रिज प्रालीलाई खबर गर्दा प्राविधिक कमजोरी भएको हुनसक्ने स्विकार गरेको छ ।
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले उक्त जामको बोत्तल खोलिसकेको हुनाले कस्तो कारवाही हुन्छ भन्न नसकिने र यस्ता घटनामा कानुन मौन रहेको बताएको छ । तर मिक्स फ्रुट जाममा भेटिएको उक्त सिसा कम्पनीको कमजोरीका कारण आएको प्रष्ट देखिन्छ ।
भिडियो हेर्नुहोस् ।
संवाददाता । आइतबार, भदौ १७, २०८० मा प्रकाशित