सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक प्रविधिको एमआरआई मेसिनबाट बिरामीको उपचार सुरू गरिएको छ । करिब दुई महिनासम्म मेसिन जडान र प्रोसेसिङ प्रोग्रामहरु इन्स्टल गरेपछि शुक्रबार अस्पतालका निर्देशक डा. डम्बर खड्काले एमआरआई सेवा सुरु गरेका हुन् ।
प्रदेश अस्पतालै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि विरामीहरुले महँगो खर्च गरेर सुर्खेत बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । यो मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको हो । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको मेसिन हो ।
संवाददाता । शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित