दैलेख । दैलेखको दुल्लु नगरपालिकाको मुख्य समस्याको रुपमा रहेको गुठी जग्गाको कर पनि रैकरको सरह तिर्न सकिने भएको छ । गुठी संस्थानले दुल्लु नगरपालिकालाई पत्राचार गर्दै अब गुठीको कर पनि रैकर सरह तिर्न सकिने बताएको छ ।
दुल्लु नगरपालिकाको ८० प्रतिशत जमिन गुठीको रहेको छ । दुल्लुमा रैकर कर ५ देखि ७ रुपैयाँ भएपनि गुठी जग्गा भोगचलन गरिरहेका दुल्लुबासीले प्रति रोपनी २८० रुपैयाँ कर तिर्नुपर्ने हुन्थो । महंगो कर शुल्कका कारण २०४८ शालबाट गुठी कर तिर्न नसकेका दुल्लुबासीलाई गुठी संस्थानले गरेको निर्णयले राहात मिलेको छ । अब दुल्लुको गुठी जग्गाको भोगचलन गरिरहेका स्थानीयले रैकर सरह नै कर तिर्न सक्नेछन् ।
दुल्लु नगरपालिकाले दुल्लुको गुठीको समस्यालाई लिएर गुठी संस्थानलाई पत्र पठाएको र सोही बमोजिम गुठी संस्थानले निर्णय गरि रैकर सरह नै कर तिर्ने निर्णय गरेकोमा यसले दुल्लुको गुठी समस्याको समाधानमा महत्वपूर्ण उपलब्धी भएको दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले बताए । अब दुल्लुका गुठीयारहरुले लामो समयदेखि महंगो कर शुल्कका कारण तिर्न नसकेको कर रैकर सरह तिरे हुने पनि उनको भनाई छ । गुठी समस्याबाट आफु स्वयम् पनि प्रभावित भएको हुँदा लामो समयदेखि यसको समाधानका प्रयासहरु गर्दै आएको र यो निर्णयलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएको उनले बताए ।
संवाददाता । शनिबार, भदौ ३०, २०८० मा प्रकाशित