कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रले धान्न नसक्ने र संविधान प्रतिकूल हुनेबाहेक शिक्षकका समस्या समाधान गर्न तयार रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षकहरूको माग र सरकारले गरिरहेको पहलका विषयमा जानकारी गराउँदै उपसभापतिसमेत रहेका खड्काले यस्तो बताएका हुन् ।
‘वर्तमान अर्थतन्त्रले धान्न नसक्ने, शिक्षाका विषयमा संविधान प्रतिकुल हुनेबारे जे–जे समस्या छन् । समस्या समाधान गर्न तयार छौं भनेका थियौ । उहाँहरू हिजोदेखि आन्दोलनमा जानुभयो । अहिले मन्त्रीसँग होइन प्रधानमन्त्रीसँग वार्ता गर्ने भनिरहनुभएको छ । तर पनि हामीले गृहमन्त्री र शिक्षामन्त्रीसहित एकचरण वार्ता गरिसक्यौं,’ खड्काले भने, ‘फेरि अर्को चरणमा छलफल हुन्छ । पहिलोका सकारात्मक पक्षलाई समेटेर फेरि वार्ता हुन्छ । समाधान निस्कन्छ । पहिले भएको सहमतिभन्दा हामी बाहिर जाँदैनौं ।’
शिक्षक र शिक्षाका समस्याका विषयबारे ऐन, नियम, कार्यविधि, परिपत्रमा पनि आउने उनले बताए । ‘यो वषौं देखिएको समस्या हो । समाधान हुन्छ । ससस्यालाई सरकारले जिम्मेवारीपूर्वक रुपमा हेरेको छ, समाधान दिन्छ,’ खड्काले भने ।
संवाददाता । बिहिबार, असोज ०४, २०८० मा प्रकाशित