हिमाली जिल्ला हुम्लाको ठकुरी बस्तीमा महिलाहरूले गौरा (दुबाटु) पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष भदौ र असोज महिनामा पर्ने गौरा पर्व ठकुरी समुदायकी महिलाले भारी गीत गाउने र पुरुषले ढाल तरबार नाच नाचेर मनाउने गरिन्छ।
सिमकोट गाउँपालिका– ७ का जयबहादुर शाहीले यस पटक गौरा पर्व धुमधामका साथ मनाउने कार्य भएको बताए। यो पर्व दुई दिन मनाइएको हो। उनले पहिलो दिन गाउँको सार्वजनिक स्थानमा रहेको मन्दिरमा फुलपाती सहित गौरा भित्र्याउने र दोस्रो दिन पठाउने गरिएको बताए। यसमा परम्परागत पहिरन र गहनामा सजिनु भएका महिलाहरुले मागल, चाड्ची, भारी, चुटकिला गाउँका सबै महिला मिलेर गाउने गरिन्छ भने दोस्रो दिन पुरुषहरु स्थानीय भेषभुषामा सजिएर ढाल तरवार नाच नाच्ने गरिन्छ।
रातभर भने महिला र पुरुष मिलेर देउडा गाउने गरिन्छ। सिमकोट, खार्पुनाथ, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका बीसभन्दा बढी ठकुरी बस्तीमा गौरा पर्व मनाउने गरिन्छ। यो पर्व मनाउनका लागि जिल्ला बाहिर रहेका सदस्य समेत घर आउने गरिन्छ।
मीठामीठा परिकार पकाएर एक आपसमा मिलेर बाँढेर खाने चलन पनि भएको कारण यसको छुट्टै महत्व रहेको छ। परिवारका सदस्यहरुलाई एक सरो नयाँ कपडाको समेत ब्यवस्था गरिन्छ।
संवाददाता । आइतबार, असोज ०७, २०८० मा प्रकाशित