Karnali Media
२०८३ भदौ २० , शनिबार

राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक



नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुनधाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।

यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ ।

बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको एक हजार, ६ सय र २५ ग्राम सिक्काको चार हजार मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।


दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार