सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वको लागि भोलि विहान ८ बजेदेखि निवाचन हुने भएको छ ।
यसअघि निर्वाचन आज हुने भनिएको थियो । आज मतपत्र छपाइमा केही ढिलाई भएको र राती मतदान गर्न सम्भव नभएको निर्वाचन भोलि विहानबाट हुने निर्वाचन समितिले जनाएको छ ।
एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि तीन जनाको प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष पदका लागि मीनबहादुर शाही, गुलावजंग शाह र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने पक्का भएको हो । शुक्रबार अध्यक्ष पदका लागि पाँच नेताको उम्मेदवारी परेको थियो । तर अन्तिम अवस्थामा राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए ।
त्यस्तै सचिवका दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीले प्रतिस्पर्धा हुने भएको छ । सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले उम्मेदवार रुद्रबहादुर शाहीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ ।
संवाददाता । शनिबार, असोज १३, २०८० मा प्रकाशित