बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।
सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाइएको हो । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो १ बजे देखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।
हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरेको छ । ठूलो संख्यामा निस्किएको र्यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चित कालिन कर्फ्युको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिएका छन् । नेपालगञ्जको सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ आचार्यको भनाई छ ।
नेपालगंज बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।
संवाददाता । मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित