सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ मा रहेको भैरब माध्यामिक विद्यालयमा खेलकुद सप्ताह सुरु भएको छ । आज विभिन्न कार्यक्रमहरु गर्दै विद्यालयमा औपचारिक रुपमा खेलकुद सप्ताह सुरु भएको हो ।
विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा खेलकुदले महत्वपूर्ण सहयोग पुर्याउने हुँदा विद्यालयमा पढाई सँगसंगै खेलकुदमा पनि जोड दिँदै आएको र आजबाट खेलकुद सप्ताह सुरु भएको विद्यालयले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष शेर बहादुर केसी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गंगाराम तिमिल्सेना, विद्यालयका प्रधानाध्यापक भक्त बहादुर जिसी, विद्यालय व्यवस्थापन समिती सदस्य गणेशमान खनाल लगायत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए ।
खेलकुद सप्ताहको उद्घाटन समारोहमा बोल्दै वीरेन्द्रनगर ४ का वडाअध्यक्ष शेर बहादुर केसीले विद्यार्थीको चोतर्फी विकासमा सहयोग पुर्याउने बताए । यसै विद्यालयमा पढेका धेरै विद्यार्थीहरु खेलकुदकै क्षेत्रबाट संसारमा परिचित रहेको उदाहरण दिँदै अहिले विद्यार्थी भविष्यका खेलाडी पनि भएकोले खेलकुद सप्ताहले विद्यार्थीहरुमा थप उर्जा थपिने बताए । यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गंगाराम तिमिल्सेनाले खेलकुदको माध्यमबाट आफ्नो क्षमताबाट विद्यालय र आफ्नो व्यक्तिगत पहिचानलाई समाज, राष्ट्र हुँदै समग्र राष्ट्रसम्म अनत्र्राष्ट्रिय स्तरमा चिनाउने अवसरको रुपमा रहेको बताए । विश्वका सानासाना राष्ट्रहरु पनि खेलको क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरमा चिनिएको बताउँदै विद्यार्थीहरुले खेल सप्ताहमा आफ्ना खेल प्रतिभा देखाएर उत्कृष्ट हुनेमा विश्वास समेत व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक भक्त बहादुर जिसीले विद्यालयमा उत्कृष्ट खेल प्रदर्शन गरी आगामी दिनमा हुन लागेको जिल्लाव्यापी खेलकुदमा पनि विद्यार्थीहरु सहभागि हुनेमा विश्वास व्यक्त गर्दै सप्ताहव्यापी खेलकुद सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।
तस्बिरहरुः
संवाददाता । आइतबार, असोज २१, २०८० मा प्रकाशित